English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

आठौं हस्तकला व्यापार मेला
2010-01-28

हाम्रो स्थानीय साझेदार नेपाल हस्तकला महासंघले "आठौं हस्तकला व्यापार मेला र छैटौं शिल्पकला प्रतिस्पर्धा" को आयोजना गर्दै छ । उक्त मेला यही फेब्रुवरी १८ देखि २२ सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिंदै छ ।

यस व्यापार मेलाले नेपाली हस्तकला व्यवसायीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरु समक्ष आफ्ना उत्पादन तथा सीप प्रदर्शन गर्ने तथा नेपाली कला र संस्कृति उजागर गर्ने उचित अवसर प्रदान गर्ने छ ।

सो मेलामा १५० भन्दा बढी स्टलहरुमा विभिन्न हस्तकलाका सामग्रीहरु प्रदर्शनीका लागि राखिने छन्, जस्तैः पश्मिना, चाँदीका गर-गहना, ऊनीजन्य वस्तु, सेरामिकका सामान, पौभा, काष्ठकला, पोतेका सामग्री, धातुकला, हाड र सिंगद्वारा निर्मित वस्तु, मूर्तिकला, अल्लोका उत्पादन, कपडाजन्य वस्तु, छालाजन्य वस्तु, ढाकाका उत्पादन, हातेकागजद्वारा निर्मित वस्तु, धूप र बाँसजन्य वस्तु ।

यस मेलाले एसएमइलिंकका लाभान्वित उद्यमीहरु एवम् अन्य सहभागी उद्यमीहरुलाई पनि यी अवसरहरु प्रदान गर्ने छः
· मेलाका विधि, प्रक्रिया, मूल्य र मान्यतासँग चिरपरिचित हुने,
· प्रतिस्पर्धात्मक वस्तुहरुको अवलोकन गर्ने,
· स्थानीय हस्तकलाका निर्यातकर्ता र उत्पादकहरुसँग भेटघाट गर्ने,
· अन्तर्राष्ट्रिय व्यापार मेलाहरुमा सहभागी बन्नका लागि क्षमता अभिवृद्धि गर्ने,
· नौला हस्तनिर्मित सामग्रीहरु प्रदर्शन गर्ने,
· स्थानीय र बाहृय उपभोक्ता एवम् सम्बन्धित व्यापारीहरुलाई नेपाली हस्तकलाबारे जानकारी दिने ।

सो मेलाको क्रममा नेपाल पर्यटन बोर्डमा दुइदिने गोष्ठी पनि सञ्चालन गरिने छ । उक्त गोष्ठीमा "हस्तकला उद्योग र पर्यटन उद्योगबीच रहेको अन्तरसम्बन्ध र राष्ट्रिय अर्थतन्त्रमा त्यसको प्रभाव" र "हस्तकला व्यापार मेलामा हुने सहभागिताद्वारा निर्यात क्षमतामा अभिवृद्धि" जस्ता दुइ विषयमा छलफल गरिने छ ।

छैटौं कला प्रतिस्पर्धा, कालिगढहरुद्वारा कलात्मक हस्तकला निर्माणको प्रत्यक्ष प्रदर्शनी, मानव-आकारको हस्तनिर्मित मूर्तिको प्रदर्शनी र प्रत्यक्ष सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको प्रसारणले सो मेलालाई थप आकर्षण दिने छ ।




PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।