अन्तरवार्ता
समित शाक्य, सिल्भर एन्ड जेम्स ट्रेड लि2009-06-16क्याफे डि पाटनभित्र प्रवेश गर्ने बित्तिकै हामीले केही शीतलता महसुस गर्यौं । त्यहाँ हामीलाई "सिल्भर एन्ड जेम्स ट्रेड लिंक" का समित शाक्यले स्वागत गर्नुभयो । उहाँले हामीलाई सो क्याफेसँगै जोडिएको भवनमा लग्नुभयो जहाँ उहाँको कार्यालय अवस्थित थियो । हामीले उहाँको कार्यालय सँगसँगै कार्यशालाको पनि निरीक्षण गर्यौं जहाँ हामीले पत्थरलाई आकार दिने प्रक्रियाबारे बुझ्यौं ।
"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणबारे उहाँको प्रतिक्रिया बटुल्ने मनसायले हामी उहाँलाई भेट्न गएका थियौं । त्यहाँ हामीले उहाँको उत्पादन प्रक्रिया, बिक्रय प्रक्रिया, लेखासम्बन्धी अभिलेख राख्ने विधि, मौज्दात राख्ने प्रक्रिया इत्यादिबारे छलफल गर्यौं ।
"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणबारे उहाँसँग गरिएको कुराकानीको छोटो अंश यहाँ प्रस्तुत गरिएको छ :
१. तपाईंलाई "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षण कस्तो लाग्यो ? के यो उपलब्धीमूलक छ ?
"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी दिइएको प्रशिक्षण ज्यादै उपलब्धीमूलक देखें । यस प्रशिक्षणमार्फत् मैले हाम्रो संस्थाको विद्यमान् प्रणालीलाई निरन्तरता दिन सक्छु । त्यसका साथसाथै यसमा केही सुधार पनि ल्याउन सक्छु । त्यसैगरी एक गुणस्तरीय प्रणाली भएको संस्थाले सहजरुपमा ख्याति कमाउन र आफ्नो व्यवसायलाई वृद्धि गर्न सफल पनि हुन्छ ।
२. तपाईंलाई यस प्रशिक्षणको कुन पक्ष राम्रो लाग्यो ?
यस प्रशिक्षणबाट म पूर्णरुपमा सन्तुष्ट छु । "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षण प्राप्त गरेपछि मैले एक व्यवस्थित प्रणालीको आवश्यकतालाई राम्ररी बुझें । अब म विभागीय विभाजन र कार्य विभाजन जस्ता विषयमा आफ्ना कर्मचारीहरुलाई सजिलै सहमत गर्न सक्ने भएको छु ।
३. तपाईंलाई यस प्रशिक्षणको क्रममा चित्त नबुझेको पक्ष केही छ ?
मेरो विचारमा "गुणस्तर व्यवस्थापन प्रणाली" का सबैजसो पद्धतिहरु कार्यान्वयन गर्न सहज छैन । प्राविधिक दृष्टिले हाम्रा कर्मचारीहरु दक्ष छैनन् । त्यसैले प्रारम्भिक चरणमा उनीहरु "गुणस्तर व्यवस्थापन प्रणाली" का पद्धतिहरु लागू गर्न हिच्किचाउने छन् ।
४. तपाईंलाई हाम्रा प्रशिक्षकहरु कस्तो लाग्यो ?
हाम्रा प्रशिक्षकहरु धेरै सहयोगी हुनुहुन्छ । हामीलाई हाम्रा समस्याहरु समाधान गर्न उहाँहरुले सदैव सहयोग गर्नुहुन्छ ।
५. तपाईंले यस प्रशिक्षणका क्रममा कहीं-कतै सुधार गर्नुपर्ने देख्नुभयो ?
मेरो विचारमा प्रशिक्षार्थीहरुलाई बाँडिएको "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी निर्देशिका सरल एवम् विस्तृत छैन । त्यसमा आवश्यक जानकारी पनि पाइनँ । सो निर्देशिका सबैले बुझ्न सक्ने गरी सरल बनाइएको भए हुन्थ्यो ।
६. यस प्रशिक्षणपछि तपाईंले आफ्नो कार्यशैली/संस्थामा कुनै परिवर्तन देख्नुभयो
?
अहिले म "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी निर्देशिका तयार गर्ने प्रक्रियाको प्रारम्भिक चरणमा छु । त्यसैले मैले कुनै महत्वपूर्ण परिवर्तन देखेको छैन । तर म विद्यमान् प्रणालीको अध्ययन गरी त्यसमा आवश्यक सुधार ल्याई आफ्नो संस्थाको क्षमता अभिवृद्धि गर्न तयार छु ।