English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

सविन शाक्य, सहस्रभुज अवलोकितेश्वर हृ
2009-06-05

"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणबारे प्रतिक्रिया बटुल्ने क्रममा हामीले सहस्रभुज अवलोकितेश्वर हृयान्डिक्र्याफ्ट उद्योगका सविन शाक्यलाई उहाँको कार्यशालामा भेट्न गयौं । मंगलबजार तथा महाबौद्ध परिसरको उत्कृष्ट वास्तुकलालाई नियाल्दै हामी ओकुबहालस्थिल साहूको प्रांगणमा पुग्यौं ।

"साहु" सहस्रभुज अवलोकितेश्वर अर्थात् बहुभुजयुक्त अवलोकिलेश्वरको निर्माण-कलाका लागि ख्यातिप्राप्त छ । उहाँको कार्यशालाको निरीक्षण गर्ने क्रममा उहाँले हामीलाई धातुका मूर्तिको निर्माण विधिबारे विस्तारमा बताउनुभयो । त्यस्तै उहाँले वाक्सिङ्ग, मोल्डिङ्ग, कास्टिङ्ग, वेल्डिङ्ग, कार्भिङ्ग र पेन्टिङ्ग प्रक्रियाबारे पनि जानकारी दिनुभयो । यसै क्रममा हामीले विभिन्न मूर्तिका लागि उपयुक्त साँचोहरुको सही अनि चाँडो पहिचानका लागि तिनलाई कसरी छुट्ट्याएर राखिन्छन् भन्नेबारे पनि बुझयौं ।

हामीले "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणबारे उहाँसँग गरेको कुराकानीको छोटो अंश यहाँ प्रस्तुत गरिएको छ :

१. तपाईंलाई "गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी" प्रशिक्षण कस्तो लाग्यो ? के यो उपलब्धीमूलक छ ?
"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षण लिनु पूर्व पनि हामीले हाम्रो उद्योग/संस्था सञ्चालनका लागि एक निश्चित प्रक्रिया अपनाएका थियौं । तर यस प्रशिक्षणपश्चात् हामीले हाम्रो विद्यमान प्रणालीमा भएका कमी-कमजोरीहरु पत्ता लगाई तिनको समाधान गर्न पनि जान्यौं । त्यसैले हाम्रो लागि यो प्रशिक्षण लाभदायक नै रह्यो ।

२. तपाईंलाई यस प्रशिक्षणको कुन पक्ष राम्रो लाग्यो ?
यस प्रशिक्षणको क्रममा मलाई हाम्रो उद्योगको उद्देश्य निक्यौंल गर्दा रमाइलो लाग्यो । ग्राहकको मागअनुरुप वस्तु उत्पादन गर्नु, उत्पादनमा प्रभावकारिता बढाउनु, बजार र्सर्वेक्षणका लागि नयाँ विक्री-कक्षहरु थप्नु, परम्परागत कालिगढीको जर्गेना गर्नु एवम् गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी विधि अपनाई उद्योगको व्यवस्थापनमा सुधार ल्याउनु नै हाम्रा उद्देश्य रहेका छन् ।

३. तपाईंलाई यस प्रशिक्षणका क्रममा चित्त नबुझेको पक्ष केही छ ?
यस प्रशिक्षणको कमजोर पक्ष त म केही देख्दिनँ । अघिल्लो वर्ष सञ्चालन गरिएको "व्यावसायिक योजना निर्माण" सम्बन्धी प्रशिक्षण र हाल सञ्चालन भइरहेको "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणले हामीलाई हाम्रा अनुभव निर्खानका साथै हाम्रो क्षमता अभिवृद्धि गर्न सहयोग गरेको छ । यी प्रशिक्षणहरुका क्रममा हामीलाई नयाँ सिद्धान्त, विधि तथा परिकल्पनाहरुबारे सिकाइयो । तर मेरो विचारमा तालिमहरुबीचको समय-अन्तर छोटो भएको भए उचित हुन्थ्यो ।

४. तपाईंलाई हाम्रा प्रशिक्षकहरु कस्तो लाग्यो ?
हाम्रा प्रशिक्षकहरु निकै नै सहयोगी हुनुहुन्छ । उहाँहरुको सहयोग र सुझावविना औपचारिक कागतपत्रहरु तयार गर्न सम्भव थिएन ।

५. तपाईंले यस प्रशिक्षणका क्रममा कहीं-कतै सुधार गर्नुपर्ने देख्नुभयो ?
"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षण अझै पनि पूरा भइसकेको छैन । तर हालसम्मको प्रशिक्षणको क्रममा मैले यस "गुणस्तर व्यवस्थापन प्रणाली" को महत्व एवम् यसको सम्भाव्यताबारे बुझसिकेको छु । म अहिलेसम्म आफूले सिकेका विषयहरुबाट सन्तुष्ट छु ।

६. यस प्रशिक्षणपछि तपाईंले आफ्नो कार्यशैली/संस्थामा कुनै परिवर्तन देख्नुभयो ?
"गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणपश्चात् हामीले हाम्रा स्रोत एवम् साधनको उचित व्यवस्थापन र सदुपयोग गर्नेबारे विशेष ध्यान दिन थालेको छौं । हामी सकेसम्म आफ्ना स्रोत-साधनलाई खेर जान दिंदैनौं । त्यस्तै हामीले बेला-बेलामा आफ्ना कालिगढहरुको शिल्पकलालाई निखार्न क्षमता अभिवृद्धिमूलक तालिमहरुको आयोजना पनि गर्न थालेका छौं । हामी वातावरणप्रति पनि सजग भएका छौं । त्यसैगरी हामीले ऊर्जा बचत, कामदारको सुरक्षा तथा वातावरण मैत्री कच्चा पदार्थको खरीदमा पनि ध्यान दिन थालेका छौं ।



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।