अन्तरवार्ता
अस्वीनकुमार भेटवाल, एसियन हृयान्डिक्2009-05-21गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षणबारे प्रतिक्रिया संकलन गर्ने क्रममा हामी एसियन हृयान्डिक्र्याफ्ट्सका व्यवस्थापक अस्वीनकुमार भेटवाललाई भेट्न गयौं । बादलले धुम्म परेको आकाशमुनि बौद्धको धुलाम्मे सडकलाई पछ्याउँदै हामी भेटवालजीको कार्यालयमा पुग्यौं ।
उहाँ पेशाले पश्मिना व्यवसायी हुनुहुन्छ । त्यसैले उहाँले हामीलाई पश्मिना रंगाउने विधिबारे केही बताउनुभयो । उहाँको विचारमा पश्मिना रंगाउने विधि पश्मिनाजन्य वस्तुको उत्पादनका क्रममा चालिने प्रक्रियाहरुमध्ये एक महत्वपूर्ण प्रक्रिया हो । त्यसैगरी हामीले उहाँको संस्थाको व्यवस्थापकीय प्रणाली, लेखासम्बन्धी अभिलेख राख्ने प्रक्रिया, प्रलेख राख्ने प्रक्रिया, ग्राहकसँगको सम्बन्ध र निर्यात प्रक्रियाबारे पनि छोटो छलफल गर्यौं ।
गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षणबारे उहाँसँग गरिएको कुराकानी छोटो अंश यहाँ प्रस्तुत गरिएको छ :
१. गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षणबारे तपाईंको अनुभव कस्तो रहेको छ - के यो उपलब्धीमूलक देखिन्छ ?
गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण साँच्चै नै फाइदाजनक छ । यसले मेरो ज्ञानको दायरालाई अझै फराकिलो बनाइदिएको छ । यस प्रशिक्षणपश्चात् मैले मेरो लक्ष्यलाई प्राथमिकता दिन, मेरो संस्थाको व्यवस्थापकीय प्रणालीबारे बुझ्न र मेरो संस्थामा सुधारात्मक प्रयासहरुलाई अघि बढाउन सिकें ।
२. तपाईंलाई प्रशिक्षणको कुन पक्ष राम्रो लाग्यो ?
यस प्रशिक्षणले मलाई मेरो संस्थाको विद्यमान् प्रणाली व्यवस्थापनमा सुधार ल्याउन सक्षम बनाइदिएको छ । यस प्रशिक्षणबाट मैले विभागीय विभाजन, चरणवद्ध नियन्त्रण, जाँचबुझ, पुनःजाँचबुझ र प्याकेजिंगको महत्वबारे राम्ररी बुझ्ने मौका पाएँ । त्यसैगरी मैले प्रभावकारी प्रणालीको माध्यमबाट कसरी बजारमा विश्वसनीय हुन सकिन्छ र आफ्नो वस्तुको मूल्य कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने कुरा पनि सिकें । त्यसका साथै प्रभावकारी प्रणाली कार्यान्वयन गरेको खण्डमा त्रुटी तथा लापरवाहीको संख्यामा पनि कमी आउँछ भनी बुझें ।
३. तपाईंलाई प्रशिक्षणको क्रममा के कुरा चित्तबुझदो लागेन ?
अघिल्लो वर्ष "व्यावसायिक योजना निर्माण" सम्बन्धी दिइएको तालिम, हाल सञ्चालन भइरहेको "गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणीकरण" सम्बन्धी प्रशिक्षण र "दिल्ली हाट" मा भएको सहभागिता प्रंशसनीय कार्य हुन् । यी कार्यक्रमहरुले हामी जस्ता नेपाली साना तथा मझौला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गरेका छन् । त्यसकारण यस परियोजनाप्रति मेरो कुनै नकारात्मक धारणा छैन ।
४. तपाईंलाई हाम्रा प्रशिक्षकहरु कस्ता लागे ?
हाम्रा प्रशिक्षकहरु निकै नै सहयोगी हुनुहुन्छ । उहाँहरु हामीलाई नयाँ कुरा सिक्न सधैं प्रेरित गर्नुहुन्छ र सुधारका लागि सुझाव पनि दिनुहुन्छ ।
५. तपाईंले हाम्रो प्रशिक्षणको क्रममा कहींकतै सुधार गर्नुपर्ने पक्ष देख्नुभयो ?
मैले एसएमइलिंक टिममार्फत सिकेका विषय अबलम्बन गर्न प्रयास गरेको छु । फलस्वरुप मेरो संस्थाको व्यवस्थापकीय पक्षमा पनि सुधार भएको छ । अहिले म आफ्ना कामबाट सन्तुष्ट छु । प्लानेट फाइनान्सको यो प्रयास प्रंशसायोग्य छ ।
६. तपाईंले यो प्रशिक्षणपश्चात् आफ्नो कार्यशैली/संस्थामा कुनै परिवर्तन भएको देख्नुभयो ?
गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षणपछि मैले कार्य विभाजन कसरी सहयोगी सिद्ध हुन सक्छ भन्ने कुरा बुझें । अहिले हाम्रो संस्थामा सबैजना आ-आफ्ना भूमिका र जिम्मेवारीसँग परिचित छन् । त्यसैले त्रुटी हुने सम्भावनामा पनि उल्लेखनीयरुपले कमी आएको देखिन्छ ।