English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

मन्जु शाक्य, मन्जुश्री ट्रेडलिंक
2009-04-03

१. डि.एच.एस को मेलामा सहभागी बन्न पाउनु हुँदा कस्तो अनुभव गर्नुभयो ?
मेरो लागि डि.एच.एस.को मेलामा एक सहभागीका रुपमा बितेका दिन निकै रमाइला थिए । म पहिलोपटक त्यस्तो मेलामा सहभागी भएकी थिएँ । उक्त अवसर प्रदान गरिदिनु भएकोमा म परियोजना टिम तथा डि.एच.एस.प्रति हृदयदेखि नै आभारी छु । म त्यहाँ एक खाली स्लेटको रुपमा गएकी थिएँ । तर त्यहाँबाट र्फकंदा धेरै कुरा सिकेर आएँ । हामी नेपाली महिला उद्यमीहरु पनि मिलेर नेपालमा पनि वर्षभरी त्यस्तै प्रकारको एउटा हाटबजार सञ्चालन गर्न सक्छौं भन्ने मेरो धारणा छ ।

२. तपाईंलाई त्यहाँ प्रदान गरिएका प्रशिक्षणहरु कस्तो लाग्यो ?
प्रशिक्षणहरु सरल भए तापनि व्यावहारिक थिए । उद्घाटन कार्यक्रमबाट सुरु गरिएका ती प्रशिक्षणहरु परिचयात्मक सत्रहरु हुँदै वस्तुगत अध्ययनमा आई टुगिंए । प्रशिक्षण दिनुहुने स्रोत व्यक्तिहरु व्यावसायिक थिए । प्रशिक्षणका क्रममा एकआपसमा अन्तरक्रिया पनि हुन्थ्यो । त्यहाँ हरेक क्षेत्रलाई समान प्रश्रय दिइएको थियो ।

३. मेलामा तपाईंका स्टलबाट कतिको बि क्री भयो ?
वस्तु-बिक्रीको दृष्टिकोणले हेर्दा म सन्तुष्ट छु । ग्राहकहरुले १.५", ४" र ५" का साना आकारका मूर्तिहरु साह्रै रुचाएका थिए । मेरो स्टलमा युवायुवतीका साथै वयस्कको पनि उत्तिकै भीड थियो । युवावर्ग मूर्तिकलाको कलात्मक मूल्यबारे अनभिज्ञ देखिन्थे तर वयस्कहरु भने स-साना जानकारी लिन पनि आतुर हुन्थे । यस मेलामा सहभागी भएपश्चात् मैले मेरा धातुका मूर्तिका लागि पनि अर्डरहरु प्राप्त गर्दै छु ।

४. तपाईंले के-के सिक्नुभयो ?
मेलामा मैले मेरो बिक्रीकौशललाई निखार्ने मौका पाएँ - तपाईं जति कुरा गर्न सिपालु हुनुहुन्छ, त्यति नै तपाईंले ग्राहक जम्मा गर्न सक्नुहुन्छ । त्यसैगरी म त्यहाँ सञ्चालन गरिएका प्रशिक्षण सत्रहरुबाट पनि प्रभावित भएँ, जस्तैः- रेखा शंकरको "परम्परागतदेखि आधुनिक डिजाइन" सम्बन्धी प्रशिक्षण, सञ्जय गर्गको "गहना डिजाइन र विकास" सम्बन्धी प्रशिक्षण र "कर्पोरेट परिचय तथा ब्राडिंग" सम्बन्धी प्रशिक्षण ।
तर मेरो विचारमा आधुनिक डिजाइनअनुरुप धातुका मूर्तिकलामा परिमार्जन गर्न सकिंदैन ।
त्यसैगरी क्लाउडियाको निरीक्षणमा सम्पन्न गरिएको स्थलगत भ्रमण पनि प्रशंसनीय थियो । मैले त्यस भ्रमणबाट ग्राहकलाई आकर्षित गर्नका लागि आफ्ना व्रि्री कक्षमा सामान कसरी सजाउनुपर्छ भन्ने कुरा सिकें ।

५. तपाईंलाई मेलाको कुन पक्ष चित्तबुझदो लाग्यो ?
हाम्रा संयोजकहरु एवम् होस्टेलका कर्मचारीहरुको प्रयास सराहनीय थियो । उहाँहरु निकै सहयोगी एवम् सहज हुनुहुन्थ्यो । त्यस्तै मेलाका बारेमा गरिएको प्रचार-प्रसार पनि राम्रै थियो । त्यहाँको स्थानीय दैनिकमा यस मेलाबारे एक समाचार प्रकाशित गरिएको थियो । त्यसैगरी हामीसँग लिइएको अन्तरवार्ता टि.भी. मा पनि प्रसारण गरिएको थियो । उचित प्रचार-प्रसारका कारणले नै होला हाम्रो नेपाली स्टलहरुमा अवलोकनकर्ताहरुको भीड देखिन्थ्यो ।

६. यस मेलाको सम्बन्धमा तपाईंलाई मननपरेको केही छ ?
सबै कुरा हतारमा भयो । हामी अन्तिम घडीसम्म पनि तयारी गर्दै थियौं । हामीलाई त्यहाँको बजार संरचना र ग्राहकको अभिरुचिबारे पूर्वजानकारी दिइएको भए हुन्थ्यो । त्यस्तै त्यहाँका स्वयंसेवकहरु पनि दक्ष र विश्वासिला थिएनन् । हामीलाई नेपालबाटै स्वयंसेवहरु लग्न दिइएको भए हुन्थ्यो ।

७. यो मेलालाई अझ राम्रो बनाउन के गर्नुपथ्र्यो होला ?
मेरो विचारमा संयोजकहरु सुसूचित हुनुपर्थ्यो । त्यसैगरी उहाँहरुबाट
सहभागीहरुकोमा व्यवस्थितढंगले जानकारी प्रवाहित भएको भए राम्रो हुन्थ्यो ।
त्यस्तै स्थलगत भ्रमण लैजानेक्रममा सहभागीहरुलाई विभिन्न समूहमा बाँडिएको
भए नेपाली स्टलहरुमा हरबखत एक सहभागीको उपस्थिति सम्भव हुन्थ्यो ।
त्यस्तै त्यहाँ आधारभूत सुविधाको व्यवस्था हुनु पनि जरुरी देखिन्थ्यो ।

८. तपाइंको यो अनुभवपछि के तपाईं अरु मेलाहरुमा पनि सहभागी बन्न
चाहनुहुन्छ?
यो मेला मेरो लागि एक अमूल्य अनुभव थियो । मैले त्यहाँ भारतीय बजार र त्यहाँको बजारीकरणसम्बन्धी धारणा बुझने मौका पाएँ । मैले धातुका सामग्री बेचिने स्थानीय बजार पनि भ्रमण गरें । तर त्यहाँ बेचिने मूर्तिहरु कम गुणस्तरका नक्कली मूर्तिहरु थिए । नेपाली कलाशैली अद्वितीय छ । मेलाअवधिभर नेपाली उद्यमीहरुले भारतीय कालिगढीबारे सिक्ने अवसर प्राप्त गरे । त्यस्तै भारतीयहरुले पनि नेपाली सीपबारे जान्ने मौका पाए । यस्तै अन्य मेलाहरुमा पनि सहभागी बन्न म सधैं तत्पर रहने छु ।



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।