अन्तरवार्ता
परम्परा र आधुनिकता...2008-07-01स्वयम्भूरत्न तुलाधर "याक एन्ड यति इन्टरप्राइजेज" का संस्थापकहरुमध्ये एक हुनुहुन्छ । यो संस्था सन् १९८३ मा काठमाडौं उपत्यकाका कालिगढहरुलाई सहयोग गर्ने उद्देश्य राखी स्थापना गरिएको थियो । पच्चीस वर्षपछि निर्यातको क्षेत्रमा "याक एन्ड यति इन्टरप्राइजेज" एक अगुवा संस्थाको रुपमा स्थापित हुन पुगेको छ भने अहिले करिब १५० कालिगढ परिवार अर्थात् करिब २००० जना व्यक्तिहरु यस संस्थाका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्छन् ।
"यस्तो समृद्ध संस्कृति पाएका हामी नेपाली भाग्यमानी छौं । एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिने हाम्रा दैनिक उपभोग्य वस्तु पनि बाहिरी संसारका लागि नौला वस्तु हुन्छन् ।"
यो तुलाधरजीको पहिलो सोच थियो तर अन्तिम भने पक्कै होइन । उहाँको संस्थाले चाँदीका गहनादेखि नेपाली लोक्ता कागजसम्म सम्पूर्ण परम्परागत नेपाली हस्तकलाका सामग्रीहरु विक्री गर्दछ भने तिनमा केही नयाँपन थप्ने प्रयास पनि गर्दछ । उहाँको कम्पनीले एसियामा नै पहिलोचोटि हातबाट रंगाइएका सिल्कका सल तथा अन्य तयारी पोशाक चिनाई तिनको व्यावसायिक तवरबाट विक्री-वितरण सुरु गरेको थियो । यस उत्पादनले प्राप्त गरेको सफलताका कारण आज पनि धेरैजना यसको नक्कल गरी विक्री गर्ने कार्यमा तल्लीन छन् ।
उहाँ एक सफल उद्यमी मात्र हुनुहुन्न; उहाँका उत्पादनका मूल्य अन्तर्राष्ट्रिय स्वच्छ व्यवसायको मापदण्ड अनुरुप निर्धारण गरिएका छन् । त्यसैले उहाँका कर्मचारी तथा कामदारहरु पनि उचित आय आर्जन गर्ने विषयमा ढुक्क छन् ।
अब साँच्चै नेपालसँग पनि बाँकी संसारको निम्ति दिनसक्ने केही छ ... तुलाधरजी, यहाँलाई धन्यवाद !