Events
ग्वाङ्जु अन्तर्राष्ट्रिय भ्रमण मेलामा नेपालको सहभागिता2010-03-25 — 2010-03-27नेपाल पर्यटन बोर्ड चार नेपाली पर्यटन कम्पनीहरु (साथी नेपाल, ग्लोवल होलिडेज, माइ नेपाल एड्भेन्चर र गोकर्ण फरेस्ट) को साथमा चीनको ग्वाङ्जुमा आयोजित "१८औं ग्वाङ्जु अन्तर्राष्ट्रिय भ्रमण मेला" मा सहभागी भएको थियो । उक्त मेला प्रशान्त एसियाली क्षेत्रमा आयोजना गरिने बृहत् पर्यटन मेलाहरुमध्ये एक मेला हो ।
यस वर्ष सो मेलामा विभिन्न मुलुकहरु -अस्ट्रेलिया, अस्टि्रया, बेल्जियम, क्यानाडा, क्युवा, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, भारत, इन्डोनेसिया, इटाली, जापान, रसिया तथा अन्य) बाट विश्वका ५०६ कम्पनीहरुको सहभागिता रहेको थियो ।
नेपालको प्याभिलियनमा नेपालका पर्यटकीय उत्पादन तथा सेवा एवम् "नेपाल पर्यटन वर्ष २०११" बारे पनि प्रचार गरिएको थियो । त्यसैले नेपाली प्याभिलियनले उल्लेख्यरुपमा आगन्तुकहरुको ध्यानाकर्षण गर्न सफल भएको थियो । प्याभिलियनमा आएका आगन्तुकहरुले चीनका विभिन्न शहरहरुबाट नेपालतर्फउड्ने हवाईउडान सेवाका साथै नेपाल पर्यटन वर्ष २०११ को अवसरमा विशेषत: चिनियाँ पर्यटकहरुलाई दिइने विशेष सुविधाहरुबारे आफ्ना जिज्ञासाहरु राखेका थिए ।