|
Events
आइ.टि.बि. बर्लिन २०१० सम्पन्न 2010-03-10 — 2010-03-14
यही मार्च १० देखि १४ सम्म जर्मनको बर्लिन शहरमा विश्वकै बृहत् पर्यटन मेला आइ.टि.बि बर्लिन २०१० को आयोजना गरिएको थियो ।
विश्वका १८० भन्दा बढी मुलुकहरुबाट १०,००० प्रदर्शकहरुको सहभागिता रहेको र १,८०,००० भन्दा बढी आगन्तुकहरुको आगमन भएको सो मेला व्यावसायिक प्रयोजनका लागि एक उत्कृष्ट थलोको रुपमा रहेको छ । उक्त मेलामा एकै ठाउँमा टूर व्यवसायीहरु, बुकिंग संस्थाहरु, हवाईउडान कम्पनीहरु, होटेलहरु र अन्य पर्यटनसम्बन्धी संघ-संस्थाहरु आफ्ना सेवाका साथ जम्मा भएका थिए ।
मेलामा आएका व्यावसायिक आगन्तुकहरुले पर्यटनको क्षेत्रमा देखिएको नयाँ शैलीबारे जानकारी बटुल्ने एवम् नयाँ व्यावसायिक साझेदारहरुसँग भेटी व्यापारिक सम्बन्ध गाँस्ने अवसर प्राप्त गरेका थिए । त्यसैगरी अन्य आगन्तुकहरुले पनि छोटो समयको अन्तरालमा विश्वका भ्रमणयोग्य ठाउँहरुबारे जानकारी प्राप्त गर्ने मौका पाएका थिए ।
"नेपाल पर्यटन वर्ष २०११" बारे प्रचार गर्ने उद्देश्यका साथ नेपाल पयर्टन बोर्डका साथै नेपालका उत्कृष्ट पर्यटन कम्पनीहरुले सो मेलामा भाग लिएका थिए । उक्त मेलामा नेपालको प्याभिलियन आकर्षक देखिन्थ्यो । प्यागोडा शैलीमा बनाइएको सो प्याभिलियलाई कलात्मक सांस्कृतिक वस्तुहरु जस्तै कुँदिएको काष्ठकला, माने, थांका र नेपाली झन्डाहरुद्वारा सजाइएको थियो । नेपालको प्याभिलियनमा आएका आगन्तुकहरुले नेपाल भित्रने सुगम मार्ग, पर्यटकीय गन्तव्य तथा नयाँ पर्यटनसम्बन्धी प्याकेजहरुबारे सोधपूछ गरेका थिए ।
मार्च ११ तारिखका दिन नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय व्यावसायिक पर्यटकहरुलाई "नेपाल पर्यटन वर्ष २०११" बारे जानकारी दिने उद्देश्यसहित "प्राकृतिकरुपमा नेपाल साँझ" नामक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमका अतिथिहरुलाई नेपाली लोक नृत्य र विशेष नेपाली परिकारद्वारा सत्कार गरिएको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधानले नेपाल र जर्मनीबीच कायम रहेको उत्कृष्ट द्वैपक्षीय सम्बन्धलाई औंल्याउँदै जर्मनीबाट नेपालमा हुनसक्ने पर्यटकीय आगमनमाथि जोड दिनुभएको थियो ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका पर्यटकीय प्रचार प्रमुख नन्दिनी लाहे थापाले पनि सम्पूर्ण सरोकारवाला पक्षहरुलाई नेपाल पर्यटन वर्ष२०११ को १,००,००० पर्यटक भित्र्याउने उद्देश्य प्राप्तिका लागि सहकार्य गर्न आग्रह गर्नुभयो ।
नेपाल एक अद्वितीय पर्यटकीय गन्तव्यको रुपमा औंल्याइदै गरिएको परिप्रेक्ष्यमा "नेपाल पर्यटन वर्ष २०११" बारे प्रचारका लागि आइ.टि.बि.२०१० लाई एक उत्कृष्ट अवसर मानिएको थियो ।
सो मेलामा मार्च १०-१२ व्यावसायिक आगन्तुकहरुका लागि छुट्ट्याइएको थियो भने मार्च १३-१४ तारिखका दिन अन्यका लागि पनि र्सार्वजनिकरुपमा मेलाको ढोका खोलिएको थियो ।
|