Events
चेन्नाईमा आयोजित आइ.टि.टि.एफमा नेपालको सहभागिता2010-01-08 — 2010-01-10नेपाल पर्यटन बोर्डका साथ पर्यटन क्षेत्रमा कार्यरत आठ निजी कम्पनीहरु भारतको चेन्नाईमा जनवरी ८-१०, २०१० मा आयोजित भारतीय पर्यटन मेला (आइ.टि.टि.एफ) मा सहभागी भएका थिए । सो मेला फेयरफेस्ट मिडिया लिमिटेडले पर्यटन मन्त्रालय, भारतीय सरकार र पाटा (प्रशान्त एसियाली पर्यटन संघ) को सहयोगमा आयोजना गरेको थियो ।
उक्त मेलामा नेपाली टूर व्यवसायीहरुले नेपालको पर्यटनसम्बन्धी जानकारी सम्प्रेषण गर्नुका साथै "नेपाल पर्यटन वर्ष २०११" बारे पनि प्रचार गरेका थिए ।
नेपालको स्टल उल्लेखनीय संख्यामा सम्भाव्य पर्यटक र भारतीय टूर व्यवसायीहरुको ध्यानाकर्षण गर्न सफल भएको थियो । मेलामा अवलोकनकर्ताहरुले विशेषगरी नेपाली टूर व्यवसायीहरुले उपलब्ध गराउने विभिन्न पर्यटन प्याकेजहरुबारे जिज्ञासा प्रकट गरेका थिए ।
मेलामा नेपालको स्टलले "उत्कृष्ट प्रस्तुती पुरस्कार" प्राप्त गर्न सफल भएको थियो । उक्त अद्वितीय स्टलको फोटो भारतको राष्ट्रिय दैनिक "द हिन्दू" का साथै अन्य दैनिक पत्रिकाहरुमा पनि छापिएको थियो ।